महोत्तरीमा ९ सय ३८ जनाको हुलाक निक्षेप र कर्जा राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण
राकेशप्रसाद चौधरी महोत्तरी, ९ साउन । जिल्ला हुलाक कार्यालय महोत्तरीले आफ्ना खाताधारीको निक्षेप र कर्जा राष्ट्रिय वाणिज्य बैंकको जलेश्वर शाखामा हस्तान्तरण गरेको छ । निमित्त हुलाक अधिकृत दिलीप कुमार राउतले चेकमार्फत ३ करोड ४६ लाख ३३ हजार ९ सय ७८ रूपैया २० पैसा राष्ट्रिय वाणिज्य बैंकको जलेश्वर शाखामा हस्तान्तरण गरेको छ । हुलाक सेवा विभाग र केन्द्रीय धनादेश कार्यालयको निर्देशन बमोजिम ९ सय ३८ खाताधारीको निक्षेप र कर्जा विवरण राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको राउतले बताए । कर्जा लगानी भएको २८ लाख ३० हजार रूपैया असुल गर्ने अब सम्बन्धित बैंककै रहेको उनले जानकारी दिए । बैंकका शाखा प्रबन्धक मन्जुर राईनले खाताधारीको सम्पूर्ण विवरण अध्यावधिक गरेर शिध्र खाता संचालनमा ल्याइने जानकारी दिएका छन् । नेपालमा २०३३ सालदेखि संचालित हुलाक बचत बैंक सेवा असार १२ गतेको मन्त्रीपरिषद वैठकबाट निरन्तरता नदिने निर्णय भएको हो ।