पत्रकारिताः महोत्तरीको विगत र वर्तमान

राकेशप्रसाद चौधरी*



विषय प्रवेश

महोत्तरीमा पत्रकारिताको इतिहासलाई नियाल्दा मुख्य रूपमा दुईवटा विषयबारे चर्चा गर्नुपर्ने हुन्छ । महोत्तरीबाट बाहिरका छापामाध्यममा समाचार पठाउने गरिएकोे विषय पहिलो हो भने दोस्रोमा महोत्तरीबाट नै प्रकाशन, प्रशारण हुने पत्रपत्रिका, रेडियो एफएम तथा अनलाइनबारे दोस्रो विषयको रूपमा उठान गरेको छु । पत्रिका दर्ता गर्ने बेला नेपाली, मैथिली, हिन्दी, अंग्रेजी, मगही, थारु, भोजपूरीसहितको भाषासँगै भाषा राख्ने गरिएपनि नेपाली भाषालाई प्राथमिकतामा राखिएको पाइन्छ । अनलाइनले नेपाली भाषालाई प्राथमिकता दिएपनि एफएमहरूले मातृभाषालाई बढी स्थान दिएका छन् । 

राणाकालिन समयमा मात्र नभई २००७ सालको प्रजातन्त्रपछि २०१८ सालसम्म जलेश्वर, जनकपुरमा हुने पत्रकारितालाई महोत्तरीसँग नै जोडिएर अध्ययन गरिन्छ। तसर्थ यहाँ प्रस्तुत भएका विषयवस्तुहरू हाल प्रचलनमा रहेको महोत्तरी जिल्ला र जलेश्वर केन्द्रलाई प्राथमिकतामा राखिएको छ। जलेश्वर क्षेत्रबाट २०१० सालबाट पत्रकारितामा उदाएका रामस्वरुप प्रसाद बी.ए. र २०१७ बाट उदाएका विन्देश्वरी प्रसाद मण्डल पछि छापामाध्यम, रेडियो र अनलाइन पत्रकारितामा जीवनयापन गरेका पत्रकारको भूमिका अविस्मरणीय छ । आर्थिक बर्ष २०८०र८१ मा जिल्ला हुलाक कार्यालयमार्फत सातवटा साप्ताहिक, दुईवटा दैनिक र पाँचवटा एफएमले लोककल्याणकारी बिज्ञापनवापतको भुक्तानी लिएका थिए ।

अध्ययनलाई सिमित बनाउन पत्रकारहरुको राजनीतिक आस्था वा आवद्धता तथा नेपाल पत्रकार महासंघमा पु¥याउन सकेको योगदानलाई समेट्न नसकिएको हो । यस अध्ययनको क्रममा विभिन्न दस्तावेज, लेख तथा संचारकर्मीहरूसँग जानकारी संकलन गरिएको छ । 

गोर्खापत्रमा जलेश्वरबाट जानकी मन्दिर निर्माण सम्बन्धि समाचार

नेपालकै जेठो पत्रिका गोर्खापत्र साप्ताहिकमा १९६७ सालमा जलेश्वरबाट पठाएको समाचार प्रकाशन भएको हो । अहिले गोर्खापत्रको नाम संशोधन मात्र नभई गोरखापत्र पत्रिका दैनिक प्रकाशन हुन्छ । प्रत्येक हप्ता सोमवारको दिन प्रकाशन हुने गोर्खापत्र साप्ताहिकले १९६७ साल फाल्गुण २ गतेको अंकमा जलेश्वरबाट पठाइएको जानकी मन्दिर सम्बन्धिको समाचार प्रकाशन गर्यो । 

समाचार जलेश्वर डेटलाइन राखेर प्रकाशित भएको थियो। समाचार यस्तो थियो–“जनकपुरमा जानकी (सीता) जीको मूर्ति  स्थापित गर्नालाई टिकंगढका राजाले धेरैलाख रुपैञा संकल्प गरेकाछन् भन्ने पैले खबर सुनियोथ्यो पछि त्यो खबर प्रत्यक्ष देखियो.अर्थात् मन्दिर बनायेर स्थापना गर्नेकाम पनि थाले धेरै काल लागेर बनाइयाको यो मन्दिर हालमा तयारपनि भैशक्यो अबबाकी प्रतिष्ठागर्नु थियो.”

यो समाचार लेख्ने पत्रकारको बारेमा अध्ययन अनुसन्धान नभएकोले यस विषयमा विशेष जानकारी बाहिर आउन सकेको छैन । यो समाचार हुलाकबाट पठाइयो वा अन्य कुनै माध्यमबाट खुल्न सकेको छैन । यसका साथै तत्कालीन समयमा महोत्तरी जिल्लाबाट ‘गोर्खापत्र’ को प्रतिनिधि को थिए भन्ने विषय अध्ययन अनुसन्धानको लागि उपयुक्त हुनसक्छ । जानकी मन्दिरको शिलान्यास १९५१ सालमा भई मन्दिरभित्र मूर्तिको प्राणप्रतिष्ठा १९६८ सालमा भएको मानिन्छ । गोरखापत्र पत्रिका २०१७ साल फाल्गुन ७ गतेबाट दैनिकमा परिणत भएको हो । 

महोत्तरीको ज्ञात पहिलो पत्रकार 

जनकपुर केन्द्र बनाई २०१४ बाट त्रैभाषिक मासिक पत्रिका नवजागरणको शुरुवात भयो । यो पत्रिका पाठकको हातमा २०१६ सालमा पुगेको थियो । यस पत्रिकामा हिन्दी भागको सम्पादन रामस्वरुप प्रसाद बीए(रामस्वरुपप्रसाद नेपाली)को जिम्मामा थियो । महोत्तरी जिल्ला पुस्तकालय संघ जनकपुरधामले प्रकाशन गरेको त्रैभाषिक मासिक पत्रिका नवजागरणमा मैथिली भागको लेखन तथा सम्पादनको जिम्मा प्रोफेसर सुर्यकान्त झाको थियो । नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासका लेखक धर्मेन्द्र झाले विसं.२०१४ साल बैशाखमा प्रकाशित यो पत्रिका विभिन्न अवरोधका कारण छाँपिएर विसं.२०१६ सालमा मात्र पाठकसमक्ष पुगेको चर्चा गर्नुभएको छ । यस पत्रिकाको सम्पादन तथा संस्थापनमा नवोनाथ झा नविन तथा धु्रवनारायण लाल कर्णको नाम जोडिन्छ । उनी २४ बर्ष नपुग्दै विसं.२००७ सालमा बीए उर्तीण गरेपछि थर सँगै ‘बीए’ उपाधि लगाउन थालेका थिए ।  

प्रजातन्त्र पुनस्र्थापनापछि जनकपुर अंचलका प्रथम हिन्दी साप्ताहिक भनेर २०४८ सालबाट उनकै प्रकाशन तथा सम्पादनमा मुक्त नेपाल साप्ताहिक सञ्चालन भएको हो । पञ्चायती ब्यबस्थामा प्रकाशन हुने पत्रपत्रिकाले समेत २०४८ सालबाट नयाँ दर्ता गराई सञ्चालन गरेकोले थप विवरणहरु पाउन ग्राहो छ । उनी जलेश्वरस्थित घरबाट पुस्तक लेखनको काम समेत गर्दै आएका थिए । पत्रकारितामा २०१० सालदेखि अनवरत खटिएका जलेश्वर निवासी उनको मृत्यु विसं.२०६२ साल फाल्गुन महिनामा भयो । पत्रकारिताको शुरुवाती अवस्थामा उनी भारतीय सञ्चारमाध्यममा काम गर्नुका साथै दरभंगाबाट मुक्त नेपाल छाँपेर जनकपुर र जलेश्वरमा ल्याउने गरेका थिए । उनी लोक मञ्च(हिन्दी), नेपाल समाचार, दैनिक नवराष्ट्र(पटना), नेपाल टाइम्स (हिन्दी), सगरमाथा सम्वाद समिति(२०१८), राष्ट्रिय सम्वाद समिति(२०१९),गोरखापत्र(२०२३), टेलिकम्युनिकेश(२०२४) लगायतका सञ्चारमाध्यम र संस्थामा काम गरेका थिए । 

यसका अतिरिक्त उनको लेख÷रचना जनवाणी, लोकमत, सारंगी, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागको मुखपत्र साहित्यलोक, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तकमा प्रकाशित छन् । नेपाली तथा हिन्दी भाषामा प्रजातन्त्र और हमारा कर्तव्य, संक्षिप्त नेपाल, श्री रामनवनी, सीताचरित्र, कथा संग्रह, नागरिक परिचय, जनकपुर महिमा, जनकपुर गाइड, बाबा महात्मसहितको पुस्तकका लेखक उनी नै हुन् । नेपाल पत्रकार संघको नामबाट २०५१ सालमा प्रकाशित स्मारिका ‘नेपाली पत्रकारहरू भाग–१’मा मध्यमाञ्चल क्षेत्रबाट रामस्वरुपप्रसाद नेपालीलाई समेटिएको छ । 

उनी एक पटक ‘नेपालमा हिन्दी’ पुस्तकको रचना गर्दा जेल जानुपरेको थियो । यो घटना २०२२ सालको हो । तत्कालिन अञ्चलाधीशले नेपालमा हिन्दी पुस्तकको सम्पूर्ण प्रति जफत गरि आगो लगाई नष्ट मात्रै गरेनन, हिरासतमै पठाए । अञ्चलाधीशको चित्त नबुझेकाले ठाडो आदेशमा रामस्वरुपलाई महिनादिनसम्म हिरासरमा राखेर मात्र रिहा गरिएको थियो । हुनतः २०१८ सालमा समेत उनी प्रकाशन प्रतिबन्ध भोगेका थिए । 

जलेश्वर बजराहीका गणेशप्रसाद चौधरी २०३० सालमा राष्ट्रिय समाचार समितिको महोत्तरी प्रतिनिधि भएको केही समयपछि जनवाणी साप्ताहिक प्रकाशन गर्न थाल्नुभयो । यो पत्रिका बन्द भएपछि चौधरीले प्रभात साप्ताहिक प्रकाशन गर्नुभएको थियो, तर नियमित नभई बन्द भयो । २०६० साल अगाडिसम्मका पूराना पत्रकारमा अरुण कुमार सिंह, नरेन्द्र श्रेष्ठ, मुनेश्वर राय, विश्वनाथ लाल कर्ण, विशेश्वर साह, विश्वनाथ साहलगायतको नाम पनि जोडिन्छ । 

पूरानो पत्रिकाको निरन्तरता 

नेपाली भाषाको युगपुकार साप्ताहिक पत्रिका चारदशक पूरा गरिसकेको छ । नेपाल पत्रकार महासंघबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका परिकौली निवासी प्रकाशक तथा सम्पादक कुवरकान्त झा ८१ बर्षको उमेरमा समेत सक्रिय छन् । विसं. २००० सालमा जन्मेका उनको पत्रिका २०३९ सालदेखि निरन्तर प्रकाशन भइरहेको छ । यो पत्रिकालाई महोत्तरीको सबैभन्दा पूरानो जीवन्त पत्रिकाको उपाधि दिन कुनै आपत्ति छैन । शुरुवाती समयमा यस पत्रिकाको सम्पादन रामस्वरुप प्रसाद बीएले गरेका थिए । प्रेस काउन्सिल नेपालको वर्गीकरणमा समेत यो पत्रिका छ । लेटर प्रेसबाट शरु भएको यो पत्रिकाको यात्रा अफसेटसम्म पुगेको छ । यो पत्रिकाको विषयमा अध्ययन गर्दा मात्र पत्रकारिताको विकासक्रम बुझ्न मद्दत गर्ने विश्वास छ । पत्रिकाको जिम्मेवारी स्वयं कुवरकान्त झा र उनका छोरा विवेकानन्द झाले सम्हालेका छन् । 

पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय रहेका विन्देश्वरी प्रसाद मण्डलले प्रजातन्त्र पुनस्र्थापछि नेतृत्व दिएको नेपाली भाषाको तथ्य साप्ताहिक २०४९ सालदेखि निरन्तरता पाएकोे छ । कुनै समय भारतीय सञ्चारमाध्यममा समेत योगदान गरेका उनको यात्रा प्रायः साइलकमा हुनेगर्दथ्यो । उनी २७ बर्षको उमेरमा २०१७ सालबाट पत्रकारिता शुरु गरि आर्यावर्त(भारत), नेपाल सन्देश, गोरखापत्र, दैनिक, आज, जनचर्चा, युग सन्देशसहितको पत्रपत्रिकामा काम गरेका थिए । प्रेस काउन्सिल नेपालको वर्गीकरणमा रहेको तथ्य साप्ताहिकलाई अहिले हरिप्रसाद मण्डलले निरन्तरता दिएका छन् । प्रशासनको धाँधलीबारे २०३६ सालमा समाचार प्रकाशन गर्दा प्रमुख जिल्ला अधिकारी ललितबहादुर बममे विन्देश्वरी मण्डललाई बिना पक्राउ पूर्जी दुई महिनासम्म थुनामा राखेका थिए । 

अर्कोतर्फ नेपाली भाषाको मैथिलसन्देश साप्ताहिकको यात्रा २०५१ सालबाट भएको हो । सरकारी सेवाबाट निवृत भएका सुगा निवासी कृष्णचन्द्र झाले संचालन गरेको यो पत्रिका अहिलेसम्म नियमित छ । झाको जन्म १९९४ सालमा भएको हो । पत्रकारितासँग केन्द्रीत गतिविधिमा उनको चाँसो अझैसम्म रहने गर्दछ । वर्गीकरणमा परेको यो पत्रिकाको प्रकाशन र सञ्चालनको जिम्मेवारी अहिले नागेन्द्रकुमार कर्णको काँधमा छ । 

पत्रकारिता यात्रामा २०३५ सालबाट १९ बर्षकै उमेरबाट हिडेका दशरथ भण्डारीले भूमि साप्ताहिक प्रकाशन गरेका थिए । उनी लोकसम्मति, नवरस, साप्ताहिक मञ्च, राष्ट्रिय समाचार समितिलगायतको सञ्चारमाध्यम तथा समाचार संस्थामा काम गरिसकेका छन् । महोत्तरी जिल्लाको पहिलो नेपाली भाषाको पत्रिका महोत्तरी टाइम्स दैनिक प्रकाशन २०६१ मा गरिएपनि दुईबर्षपछि बन्द भयो । यो पत्रिका सञ्चालन मधेश आन्दोलन अगाडिसम्म रहेकोमा २०६३ साल असारमा दशरथ भण्डारीको जेठो छोरा कञ्चनको मृत्यु भएपछि दैनिक पत्रिका बन्द भयो । यो पत्रिकामा उमेश कुमार यादव, कञ्चन कुमार भण्डारी, राकेशप्रसाद चौधरी र नागेन्द्र कर्णले समेत योगदान पु¥याएका थिए । पछि पुनः प्रकाशन गर्ने जमर्को गरिएपनि निरन्तरता पाउन सकेको छैन । 

अहिले प्रकाशनमा रहेको उनको नेपाली भाषाको महोत्तरी सञ्चार दैनिक २०७९ सालबाट शुरु भएको हो । यो पत्रिकाको जिम्मेवारी कार्यकारी सम्पादक रञ्जन भण्डारीको काँधमा छ । सल्लाहकार सम्पादकको जिम्मेवारी राकेशप्रसाद चौधरी छन् । प्रकाशक तथा सम्पादक दशरथ भण्डारी अहिले पनि उत्तिकै सक्रियताका साथ पत्रकारितामा जमेका छन् । 

त्यस्तै २०५६ सालदेखि प्रकाशित नेपाली भाषाको जलेश्वर साप्ताहिकको निरन्तरता कायम छ । संस्थापक प्रकाशक तथा सम्पादक रामस्वार्थ सिंह(पूर्व प्रधानाध्यापक)को देहान्त भएपछि पत्रिकाको जिम्मेवारी २०६४ सालबाट छोरा अजयकुमार सिंहको काँधमा छ । प्रेस काउन्सिल नेपालको वर्गीकरणमा रहेको यो पत्रिकाले नेपाली भाषासँगै २०६० सालतिर राकेश पीसीको मनक बात मैथिली भाषाको कोलम राख्ने गरेको थियो । काठमाण्डौमा २००७ सालबाट दैनिक पत्रिकाहरू प्रकाशन हुन थालेदेखि महोत्तरी जिल्लाबाट संवाददाताहरू बन्ने क्रम शुरू भएको मानिन्छ । तथापि ती मध्ये केही पत्रकारहरूको नामावली उपलब्ध छैन । प्रजातन्त्र पुनस्र्थापना पछि २०५० सालबाट शुरू भएको व्यबसायिक दैनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनमा यहाँबाट संवाददाता भई सक्रिय पत्रकारिता गर्नेहरुको संख्या पनि धेरै छ । 

महोत्तरीमा २०६३ पछिको नियमित छापामाध्यमको पत्रकारिता 

कमलेश मण्डलको प्रकाशन तथा सम्पादनमा २०६३ सालबाट महोत्तरी साप्ताहिक पत्रिकाको निरन्तरता छ । गौशाला टाइम्स साप्ताहिक २०६९ सालबाट र जलेश्वर टुडे दैनिकको प्रकाशन २०७० सालबाट शुरु भएको हो । गौशाला टाइम्सको प्रकाशक गोबिन्द महतो तथा जलेश्वर टुडेको प्रकाशक÷सम्पादक पवन कुमार साह छन् । 

त्यस्तै २०७५ सालबाट द पब्लिक टुडे दैनिक र पञ्चधुरा साप्ताहिक प्रकाशन भएको हो । रामनारायण महतोको प्रकाशनमा द पब्लिक टुडे तथा माधव श्रेष्ठको सम्पादनमा पञ्चधुरा साप्ताहिक छ । प्रकाशक मनोज कुमार थापाको प्रभात सन्देश दैनिक, कार्यकारी सम्पादक भाग्यरेखा ठाकुर रहेको गौशाला खबर दैनिक र दशरथ भण्डारी सम्पादक रहेको महोत्तरी सञ्चार दैनिक चाररपाँच बर्ष पूरानो भएपनि प्रेस काउन्सिल नेपालको वर्गीकरणमा पर्न सकेको छैन ।

महोत्तरीमा रेडियो र अनलाइन पत्रकारिता

काठमाण्डौ उपत्यकामा २०५२ सालबाट व्यवसायिक हिट्स सञ्चालनपछि २०५४ मा पहिलो सामुदायिक एफएम रेडियो सगरमाथाको शुरुवात भयो । त्यसपछि मेट्रो, कान्तिपुर, इमेज, एचबीसी, नेपाल एफएम नेटवर्कसहितका एफएमहरूको शुरुवात भयो । यस एफएमहरूमा संवाददाताको रुपमा महोत्तरीको प्रतिनिधित्व भएको थियो । २०६२र६३ को आन्दोलनपछि मधेशमा एफएम, रेडियो खुल्ने क्रम पनि विस्तार भयो । यसै क्रममा २०६४ सालमा महोत्तरी जिल्लाको पहिलो सामुदायिक एफएम रेडियो अपप्न मिथिला सञ्चालनमा आयो । जिल्लाबाट रेडियो जलेश्वरनाथ, सुनगाभा, रेडियो दर्पण, रेडियो रुद्राक्ष, रेडियो बर्दिवास, रेडियो गौशाला, रेडियो सोनामाई, रेडियो मिर्ची, रेडियो म्याक्स, रेडियो रुपान्तरण, पब्लिकसहितका एफएम दर्ता भएका छन् । दर्ता भएकामध्ये अधिकांश एफएम सञ्चालनमा छन् । 

जिल्ला हुलाक कार्यालय महोत्तरीबाट आर्थिक बर्ष २०८०र८१ मा रेडियो अप्पन मिथिला, रेडियो जलेश्वरनाथ, रेडियो रुद्राक्ष, रेडियो बर्दिवास र रेडियो जुनताराले विज्ञापनवापतको सुविधा रकम प्राप्त  गरेको थियो । आर्थिक बर्ष २०८१र८२ को लाथि रेडियो दर्पण पनि थपिएको थियो । 

महोत्तरीमा पत्रपत्रिका, एफएम र अनलाइनहरूको चुनौती

जनकपुर अंचलाधीशको कार्यालयले २०४८ साल अगाडिका पत्रपत्रिकादर्ताको किताब जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई बुझाएपनि पूरानो पत्रपत्रिकाको बिबरण पाउन ग्राहो छ । त्यतिबेलाको जनवाणी, युगपुकार साप्ताहिकसहितको जानकारी पाइन्छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा २०४८ देखि मुक्त नेपाल, आँशु, जनकपुर अंचल सन्देश, आवाज, भूमि, युगपुकार, तथ्य, प्रतिििबम्ब,महोत्तरी टाइम्स दैनिक,मैथिल सन्देश, हंसबाहिनी, अमरप्रकाश, जलेश्वर, महोत्तरी बोल्छ, अपरेशन महोत्तरी, नव काँचुली, महोत्तरी खबर, जलेश्वर जागरण, मुख प्रतिमुख, महोत्तरी साप्ताहिक, जय मधेश मासिक, मध्य नेपाल, मध्य आवाज, धार दैनिक, मिथिलोदय मासिक, मिरमिरे बिहानी, महोत्तरी जनआवाज, लोकदर्पण साप्ताहिक , इजोरिया , जलेश्वर दैनिक, पञ्चधुरा, गौशाला टाइम्स, बर्दिवास खबर, प्रतिक्षा खबर, प्रदेश रिभ्यु, जलेश्वनाथ एक्सप्रेस, जनकपुर टाइम्स, गौशाला खबर, जनकपुर पोष्ट दैनिक, तराई दर्र्पण साप्ताहिक, अष्टाबक्र दैनिक, सोनामाइ अनलाइन साप्ताहिक, युवासंकेत साप्ताहिक, शिरध्वज साप्ताहिक, जलेश्वर टाइम्स, जलेश्वर टुडे, प्रभात सन्देश, टक नेपाल, महोत्तरी सञ्चार, पालिका खोज, पालिका टुडे, महोत्तरी दैनिकसहितका दर्जनौं पत्रपत्रिका दर्ता छन् । दर्ता भएकामध्ये अधिकांश पत्रिकाले बिमोचन अंक, स्थायी दर्ता प्रमाणपत्रको प्रक्रियासम्म पु¥याएपनि थोरैले निरन्तरता दिन सकेका छन् । 

जिल्ला हुलाक कार्यालय महोत्तरीको तथ्यांक अनुसार आर्थिक बर्ष २०८०र८१ सालको तथ्यांक अनुसार जिल्लाभरमा १२ वटा पत्रिका नियमित थियो । जसमध्ये युगपुकार, तथ्य, मैथिल सन्देश, जलेश्वर, महोत्तरी, गाबिन्द महतोको गौशाला टाइम्स, माधव श्रेष्ठको पञ्चधुरासहितको सातवटा साप्ताहिक र पवन कुमार साहको जलेश्वर टुडे तथा रामनारायण महतोको द पब्लिक टुडे दैनिकसहित नौ वटा पत्रिकालाई प्रेस काउन्सिल नेपालको वर्गीकरण वापतको सुविधा प्राप्त भएको थियो । मनोजकुमार थापाको प्रभात सन्देश दैनिक, भाग्यरेखा ठाकुर कार्यकारी सम्पादक रहेको गौशाला खबर दैनिक तथा महोत्तरी सञ्चार दैनिक वर्गीकरणमा परेको थिएन । २०८१र८२ सालमा समेत पहिलाकै पत्रिको सुविधा प्राप्त गरेको थियो । खबर दर्पण दैनिक, टक नेपाल दैनिकसहितको पत्रिकाहरूको इ–प्रकाशन भइरहेको पाइन्छ ।  

जिल्लामा दर्ता भएकामध्ये २० प्रतिशत पत्रपत्रिका मात्र नियमित छन् । अर्कोतर्फ रेडियो, एफएमहरूको आर्थिक अवस्था मजबुत छैन । म्याक्स, मिर्चीजस्ता एफएमहरू नियमित सञ्चान हुन सकेका छैनन् । द पब्लिक टुडे, जलेश्वर टुडे, महोत्तरी सञ्चारसहितको पत्रिकाले आफ्नै नाममा अनलाइन सञ्चालन गरिरहेपनि स्वतन्त्र समाचारमूलक अनलाइनको संख्या एकदम न्यून छ । अन्य पत्रपत्रिकाकै नाममा सञ्चालित अनलाइन छन् । २०७४ सालबाट समाचारमूलक अनलाइन सञ्चालन गरेको जलेश्वर सिटी डटकम बन्द छ । महोत्तरीबाट जीइखबर डटकम, रुपान्तरणअनलाइन डटकम, टुडेवाणी डटकम, मिथिलाटेलिभिजन डटकम र राजधानटुडे डटकमको नाम २०८२ को तथ्यांक अनुसार मिडिया काउन्सिल जनकपुरधामको रेकर्डमा छ । रुपान्तरणको नामबाट रेडियो सञ्चालनमा छ भने मिथिला टेलिभिजनको नाममा युट्युव च्यानल पनि छ । 

यस्तै सूचना विभागको आर्थिक बर्ष २०८२र८३ को तथ्यांकमा महोत्तरीबट हिमालनी डटकम, न्यूज एग्रोन्यूज डटकम, एनटीभीनेपाल डटअनलाइन, मेलोडीनेपाल डटटीभी, सजिलो न्यून डटकम, दपब्लिकटुडे डटकम, महोत्तरीपोष्ट डटकम, दैनिकी डटकम, टचखबर डटकम, ठोसखबर डटकम, राजधानी टुडे डटकम, टकनेपालटिभी डटकम,आज्ञाखबर डटकम, प्रदेशसमाचारपत्र डटकमसहितका अनलाइन सूचीकृत छन् । जिल्लाबाट महोत्तरीटुडे डटकमलगायतका अनलाइन संचालनमा रहेपनि मधेश मिडिया काउन्सिलमा सूचीकृत भइसकेको छैन ।

संघीयताको अभ्यास जोडजोडका साथ हुन थालेपछि जनकपुरधाम, बीरगंज र राजविराजका सञ्चारमाध्यम र सञ्चारकर्मीलेले अन्य ठाउँको भन्दा बढी अवसर पाउन थालेको देखिन्छ । प्रदेशको राजधानीको हैसियतमा जनकपुरधाममा अवसर पनि बढेको हो । जनकपुर चुरोट काराखाना चालू अवस्थामा हुँदासम्म जनकपुरधामलगायत जलेश्वर र अन्य ठाउँका साप्ताहिक पत्रिकाले बिज्ञापनवापतको भुक्तानी पाउने गरेका थिए । दैनिक पत्रपत्रिकाको सुविधा नभएको समयसम्म साप्ताहिक पत्रपत्रिकाले वाािणज्य बैंकहरूको ऋण तिर्ने, लिलामी, गाउँबिकास, जिल्ला बिकास समिति र नगरपालिकाहरूबाट बिज्ञापन पाउँने गर्थे । रेडियो, एफएमहरूले समेत दामासाही हिसाबले बिज्ञापन पाउँने गरेका थिए । पहिला पत्रिका र रेडियोबीच प्रतिस्पर्धा हुँदा बिज्ञापनबाट अनलाइनहरू बन्चित हुनुपरेको थियो । शुरुवातको समयमा रेडियोहरूको मुख्य आम्दानीको स्रोत भारतीय बजारको बिज्ञापन बन्न पुगेको थियो । अहिले मूलधारको पत्रिका, रेडियो वा अनलाइनभन्दा सामाजिक सञ्जालको भिडियो, रिल र युट्युबले बजारको बिज्ञापन पाउन थालेको अवस्था देखिन्छ । 

प्रदेशस्तरीय मन्त्रालय र पालिकाहरुमा पहुँचको आधारमा बिज्ञापन वितरण हुन थाल्दा अधिकांश सञ्चारमाध्यम लाभ लिनबाट बंचित छन् । तोकिएको निकायमा दर्ता भई सञ्चालनका लागि मुख्य कार्यालय तोकिएको पालिकाले समेत सञ्चारमाध्यमलाई मलजल र संचारकर्मीलाई सशक्तिकरण, बृतिबिकास गर्न इच्छुक देखिएका छैनन् । स्थानीय तहले पालिकाभित्र सक्रिय रहेका संचारकर्मी र संचारमाध्यमको नामावली राखेको देखिएको छैन । त्यही संचारमाध्यममा प्रकाशित समाचारबारे आलोचना गरेर संचारकर्मीलाई हतोत्साहित गर्ने गरिएपनि राम्रा संचारकर्मीलाई प्रोत्साहन गर्ने नीति छैन ।  सिमित पालिकाले संचारक्षेत्रको दायरा फराकिलो बनाउन तालिम गोष्ठिको लागि रकम खर्चने गरेका छन् । सही सेवा प्रदायक संस्थाको छनौट गर्न नसक्दा लगानी अनुसारको प्रतिफल नआएको गुनाँसो पनि बढेको छ ।  

विभिन्न पालिकामा पालिकास्तरीय पत्रकार संजाल छ् । संजालका लागि कार्यालय र बजेट विनियोजन हुन थालेका छन् । सम्बन्धित नगरमा क्रियाशिल सम्पूर्ण संचारकर्मीलाई यो संजाल समेट्न सके नसकेको बारे अध्ययन हुन बाँकि छ । प्रदेश र पालिका सरकारहरुले आफ्नो क्षेत्रभित्र रहेको बौद्धिक सम्पतिको समेत अभिलेख राख्न नसकेको कारण क्रियाशिल पत्रकार, लेखक , इतिहासकार, साहित्यकारसहितका ब्यक्ति र उनका बौद्धिक सम्पति जस्तै पत्रपत्रिका, पुस्तकहरुको सम्मान हुन सकेको छैन । पालिकास्तरमा विज्ञापन उपलब्धता सम्बन्धि कार्यविधि नहुँदा पहुँच भएका जूनसुकै ठाउँका पत्रिकाले बिज्ञापनको रकम पाउने तर स्थानीयस्तरमै छापिने संचारमाध्यमले यस सुविधाबाट बंचित हुनेगरेको गुनाँसो छ । 

निष्कर्ष 

महोत्तरी जिल्लामा ६० भन्दा बढी पत्रपत्रिका दर्ता छन् तर नियमित पत्रपत्रिका थोरै छन् । पत्रिका प्रकाशनको लागी चाहिने अफसेट प्रेस सदरमुकाम जलेश्वरमा उपलब्ध छैन । साथै सरकारी बिज्ञापनमा समेत यी संचारमाध्यमको दायरा कम हुँदै गएको छ । बर्दिवास र जनकपुरधाममा रहेको अफसेटबाट पत्रिका छाप्नुपर्ने बाध्यता अझैसम्म छ । पत्रपत्रिकाको नियमित प्रकाशन हुने पालिकामा जलेश्वर, मटिहानी, गौशाला र बर्दिवास पालिका पर्छ । अहिलेको अवस्थालाई विश्लेषण गर्ने हो भने अन्य पालिकाका प्रकाशक तथा सम्पादकबाट पत्रपत्रिका दर्ता भएपनि निरन्तरतामा समस्या छ । जिल्लाबाट प्रकाशित पत्रपत्रिका, रेडियो, अनलाइनसँगै जिल्लाबाहिरका संचारमाध्यममा कार्यरत संचारकर्मीको संख्या एकसयभन्दा बढी छ ।  

पालिकास्तरमा मुख्य कार्यालय राखेर दर्ता भएका सञ्चारमाध्यमहरूले संयुक्त रूपमा सशक्तिकरणको लागि कार्यक्रमहरु राख्न दबाब दिनुका साथै स्थानीय बिज्ञापन बितरण नीति बनाउन दबाब दिन आवश्यक छ । साथ स्थानीय संचारमाध्यम तथा विभिन्न संचारमाध्यमका लागि कार्यरत संचारकर्मीको तथ्यांक संकलन गरि विषयगत प्रतिस्पर्धाको आधारमा बार्षिक रुपमा सम्मान, पुरस्कारको नीति बनाउन आवश्यक छ । संचारकर्मीलाई स्थानीय अस्पतालमा निशुल्क जाँच तथा उपचार सुविधा, बीमा, लेखनबृति, अन्तरपालिका तथा अन्तरप्रदेश अवलोकन भ्रमण, पत्रकारिता अध्ययन गर्नेलाई छात्रबृतिको सुविधाका लागि जिल्ला समन्वय समिति र पालिकाहरू संवेदनशिल हुनुपर्दछ । साथै हरेक पालिकाले आफ्नो क्षेत्रभित्रको पत्रकारिताको इतिहास लेखन गरेर पाठ्यपुस्तकमार्फत पठनपाठन गराउन आवश्यक छ । 

* वरिष्ठ पत्रकार, लेखक तथा अनुसन्धानकर्ता  

सन्दर्भ सामग्रीः

चौधरी, राकेशप्रसाद । २०८२ । महोत्तरी पत्रकारिता विगत र वर्तमान । संहिता असार पृष्ठ २५१ । 

       https://www.presscouncilnepal.gov.np/np/2025/08/01/9921/

चौधरी, राकेशप्रसाद । बैशाख २०८२ । रामस्वरुपप्रसादलाई मधेशको पहिलो पत्रकार मान्न सकिन्छ?

https://emadheshtoday.com/2025/05/03/can-ramswarup-prasad-be-considered-the-first-journalist-from-madhesh/

चौधरी, राकेशप्रसाद । २०८२ । महोत्तरी पत्रकारिता विगत र वर्तमान । संहिता असार पृष्ठ २५१ । 

चौधरी, राकेशप्रसाद । ५ असार, २०८० । मधेशमा ‘मालिक पत्रकार’ को छायामा श्रमजीवी पत्रकार ।                       https://www.himalkhabar.com/news/136499 

चौधरी, राकेशप्रसाद । २२ चैत २०७८ । सङ्घीयतामा मातृभाषा पत्रकारिता ।  

       https://www.ratopati.com/story/230667/language-journalism

झा, धर्मेन्द्र । २०७७ । नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास । 

https://www.presscouncilnepal.gov.np/np/wp-content/uploads/2020/11/Mithila-Book-Final-.pdf

चौधरी, राकेशप्रसाद । २०७७ । मैथिली छापा पत्रकारिता । 

https://gamakpost.com/news/2021/01/02/310.html

चौधरी, राकेशप्रसाद । २०६३ । उपत्यकामा मैथिली प्रकाशन । पत्रकारिता असार पृष्ठ ७ । 

 https://mediacouncil.madhesh.gov.np/


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism