राकेशप्रसाद चौधरीको रेडियो अनुभव
फुर्सद भए अहिले पनि रेडियो सुन्न खोज्छु
राकेशप्रसाद चौधरी
मेरो बाल्यकालमा एउटा जिज्ञासा हुन्थ्यो, कसरी रेडियोमा मानिस छिरेर बोल्छ । रेडियो सुन्न नचाहेपनि देश, विदेशको समाचार र गीतसंगीत कानसम्म नपुगेको कुनै दिन थिएन । हाम्रो क्षेत्रमा हिन्दी प्रेमी स्रोता बढी थिए । त्यसपछि त रेकर्ड गर्न मिल्ने, क्यासेट बजाउने मिल्ने र रेडियो सुन्ने मिल्ने एउटै रेडियो हुँदा आनन्दको मापन गर्न नसकिने । आवाजमा गडबड हुने बित्तिकै अर्को दिन ब्याट्री घाममा सुकाउनुपर्ने बाध्यता पनि थियो । रेकर्ड गर्न मिल्ने भएकोले एकैपटक पाँचवटा ब्याट्री ख्वाउनुपर्ने बाध्यता थियो ।
स्थानीय र काठमाण्डौको छापामाध्यमबाट पत्रकारिता शुरु गरेकोमा मलाई काठमाण्डौकै एचबीसी एफएममा जनकपुर क्षेत्रबाट समाचारदाताको रुपमा काम गर्ने अवसर प्राप्त भयो । काठमाण्डौको मेरो बसाइमा कमी आउन थाल्यो । तथापि काठमाण्डौ आउनेजाने क्रम बाक्लो नै थियो । राज्य र माओवादीबीच हुने द्वन्द्वको समाचार पठाउने गर्थे । सोही बेलामा समाचारवापत प्राप्त पारिश्रमिकले रेकर्ड गर्न मिल्ने मोवाइल फोन पनि किनेको थिए । समाचार र टेलिफोन वापत एकमुष्ठ मासिक खर्च दिने गरिन्थ्यो । ल्याण्डलाइन फोनबाट कागजमा लेखेको विषय बोल्ने र मोवाइल रेकर्डरबाट वाइट सुनाएपछि काठमाण्डौमा रिपोर्ट रेकर्ड हुन्थ्यो । घरमा सजिलै एचबीसी नटिपेपछि बासको एन्टिना बनाएर त्यहाँबाट ल्याएको तारमा रेडियो सेट लगाएपछि सुन्दा आनन्दित हुने समय अझै याद छ । एफएममा समाचार सुन्नेहरुको प्रतिक्रिया आउँदा मधेशमा सुनिन्छ भन्ने कुरामा म विश्वस्त थिए । सोही समयमा मैले नेपाल पत्रकार महासंघको सदस्य पाएको हो ।
राजाको प्रत्यक्ष शासन हुँदा समाचार नै नभनेपनि रेडियोले संदेशमूलक कार्यक्रमहरु संचालन गरि नै रहेको थियो । त्यसपछि शुरु भएको आन्दोलन ताका म नेपाल एफएम नेटवर्कमा समाचारदाताको रुपमा काम गर्न थाले । एउटा समाचारको सय रुपैया थियो । रिपोर्टको सम्झना भएन । त्यहाँबाट स्वतन्त्र समाचार सेवामा पनि समाचार आउँथ्यो जस्तो लाग्छ ।
रेडियो जनकपुरसँग पनि साइनो जोडिएको प्रसंग छ । स्टुडियो तयार थिएन, त्यही भएर बासमा एन्टिना लगाइएको थियो । त्यसबेला म धेरै पटक त्यहाँ पुगेको छु । पारिश्रमिक पाउने भएकैले मैले समाचार पठाउने गर्थे त्यहाँ । आफ्नै जलेश्वरमा रेडियो अप्पन मिथिला खुलेपछि त्यहाँ डेस्कमा काम गर्नुका साथै समाचारवाचक पनि भइयो । रेडियो जलेश्वरनाथमा कर्मचारी छनौट र प्रशिक्षणमा सहभागी भए ।
त्यसको केही समयपछि इमेज टेलिभिजनमा काम पाइयो । इमेज न्यूजको रिपोर्टर डायरीमा कुराकानी गर्ने मौका मैले धेरै पटक पाएको छु । अरु ठाउँभन्दा बढी समयसम्म इमेज काम गरेको छु । केही समय रेडियो रुद्राक्षमा पनि व्यतित गरेको छु । कोभिड १९ को समयमा दोस्रो पटक त्यहाँ केही समय जीवन रक्षालगायतको कार्यक्रम सञ्चालन गरेको थियो । एचबीसी एफएमबाट शुरु भएको रेडियो यात्रामा धेरै ब्यक्तिहरुले सहयोग गरेका छन् । एउटा लेख लेखेरै ती सम्पूर्ण महानुभावलाई धन्यवाद दिने योजना छ । अहिले धेरै कुरा सम्झन खोजेपनि सकिँन । पुराना कागजपत्र हेरेपछि सम्झना ताजा हुन्छ होला ।

Comments
Post a Comment