सामाजिक आन्दोलनमा योगदान पुर्याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान

महोत्तरीको जलेश्वरस्थित नेपाल पत्रकार महासंघको सभाहलमा नेपालका विभिन्न सामाजिक आन्दोलनमा योगदान पुर्याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक ‘संघर्षले बुनेका साझा सपना’ को लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भ्वाइसेज अफ वुमन मिडियाको आयोजनामा भएको यस कार्यक्रममा मरनी देवी, राम लखन साह, ललिता सिंह दनुवार र सुमित्रा सदाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो।
कार्यक्रममा समाजमा रहेका कुरीति र उत्पीडनविरुद्ध महिलाहरूले गरेको प्रतिरोधका कथाहरूमाथि विशेष छलफल गरिएको थियो। विशेषगरी, बोक्सीको आरोप लगाइएकी मरनी देवीको जीवन-कथा, उहाँको व्यक्तिगत संघर्ष र यससँग जोडिएका कानुनी परिवर्तनका आयामहरूमाथि गहन विमर्श भयो। साथै, मिटरब्याज पीडितहरूको आन्दोलन र मुद्दालाई प्रतिनिधित्व गर्दै ललिता सिंह दनुवारको कथा र अनुभवमाथि पनि विस्तृत चर्चा गरियो। कार्यक्रममा सहभागी तत्कालीन पत्रकारहरू, अनुसन्धानकर्ताहरू तथा सामाजिक अभियन्ताहरूले नेपालको सामाजिक तथा कानुनी इतिहासका यी संघर्षहरूलाई अभिलेखीकरण गरी भावी पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए।
कार्यक्रममा जलेश्वर वडा नं २ का वडाध्यक्ष वरुण कुमार दाहाल, एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व उपाध्यक्ष तथा प्राध्यापक ध्रुव राय, पिपुल्स फोर्स नेपालका केन्द्रीय सचिवालय सदस्य श्याम कुमार राउत, नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कार्यालयका सचिव मोहन कुमार साह, नेपाल पत्रकार महासंघ जलेश्वर शाखाका राकेश प्रसाद चौधरी, तथा वरिष्ठ पत्रकार, सम्पादक एवं सामाजिक अभियन्ता दशरथ भण्डारीको आतिथ्यता रहेको थियो। साथै, कायापलट टिमका प्रतिनिधिहरू र सामाजिक अभियानमा सक्रिय युवाहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।
भ्वाइसेज अफ वुमन मिडियाको आयोजनामा सम्पन्न यस कार्यक्रमले पुस्तकलाई समुदायस्तरमा पुर्याउनुका साथै उत्पीडनविरुद्ध उभिएका महिला नेतृहरूको साहसिक संघर्ष र योगदानलाई दस्तावेजीकरणमार्फत संरक्षण गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
News Source-https://janakpurpress.com/2026/10/30/35736
Comments
Post a Comment