जलेश्वर नगरपालिका र आसपासका पालिकाहरूको पर्यटकीय स्थल

 जलेश्वर नगरपालिका र आसपासका पालिकाहरूको पर्यटकीय स्थल

राकेशप्रसाद चौधरी

जलेश्वर नगरपालिका र आसपासका पालिकाहरू ( जलेश्वर बर्दिवास सडकको पूर्वदेखि मटिहानी नगरपालिकासम्म) मा रहेका थुप्रै पर्यटकीय, धार्मिक, ऐतिहासिक तथा पुरातत्व महत्वका स्थल छन् । यसमध्ये केही चर्चित स्थलहरू तथा चर्चा गर्नुपर्ने स्थलहरूबारे पालिकागत रुपमा प्र्रस्तुत गर्दा न्यायोचित हुन्छ । यस क्षेत्रमा शैव,वैष्णव,शाक्त,गाणपत्य र सौर सम्प्रदायसँगै ब्रम्हस्थान, डिहवार, विभिन्न जातिको लोकदेवता र कूलदेवताका मन्दिरहरु अवलोकन गर्न सकिन्छ । साथै मुस्लिम धर्मावलम्वीको लागि मटिहानीको पीरबाबा एक महत्वपूर्ण स्थान छ । गैरधार्मिक पर्यटकलाई यहाँको नदी, सरोबरमा हुने माछा र मखान खेती तथा माछाको परिकारले तान्नेगर्छ । 



जलेश्वर नगरपालिका क्षेत्रभित्र वैदिक देवता रुद्रद्वारा स्थापित जलेश्वर महालिङ्ग(महादेव) सँगै सोही मन्दिर परिसरमा रहेको सयौंवर्ष पुराना पालकालीन सुर्य, गणेश र भैरबका मुर्तीहरू, उमा मिथिला (शतीमाईरउमा महोत्तरी) शक्तिपीठ, बडादशैं तथा चैतेदशैंंमा मात्र खुल्ला रह्ने त्रिशुली देवी, पुरन सरोबर महत्वपूर्ण स्थलहरू अवलोकन गर्न सकिन्छ । त्यस्तै जलेश्वर महादेवभन्दा केही मिटरकै दूरीमा बरुण सरोबर, संसारीमाई, रामजानकी मन्दिर(ब्रम्हचारी कुट्टी) र सोही मन्दिरभित्रको ब्रम्हासहितको विश्वेश्वर महादेव मन्दिर, तपसी कुट्टी, राजदेवी मन्दिर, जलेश्वर रंगशालामा रहेको बौद्धीमाई, गढीमाईलगायतका मन्दिर छन् । भारीको प्राचीन भृगु ऋषि आश्रम र रामजानकी मन्दिर तथा सुगाको प्राचीन सुखदेव ऋषि सरोबर, विशनपुर(विष्णुपुर) गढस्थित डिहवारनीमाई मन्दिर भ्रमण योग्य छ । त्यस्तै धार्मिक आस्था बोकेको रातो नदीको बेला घाट घुम्न सकिन्छ । जलेश्वरमा साउने सोमवार, भाद्र महिनाको हरिपरिवर्तिनी एकादशीको जलविहार, दुर्गापूजा, छठ, श्रीपञ्चमी, महाशिवरात्री, मिथिला परिक्रमालगायतका उत्सव भव्यताका साथ मनाइन्छ ।

मटिहानी नगरपालिका क्षेत्रभित्र तत्कालीन मकवानपुर राज्यका राजा मानिक सेनले जीर्णेद्धार गरेको लक्ष्मीनारायण मठ, तस्मैयाबाबा आश्रम, पुराना घण्टालेखहरू, विक्रम सम्वत् १७७५ मा स्थापना भएको संस्कृत पाठशाला, प्राचीन नृत्य गणेश मूर्ती, नेपाल भारत सीमानामा रहेको लौह सीमास्तम्भ, गेरुकी स्नान गर्ने वीरजा(बिग्ही) नदी दोभान भ्रमण गर्न सकिन्छ । मटिहानी क्षेत्रभित्र लोभलाग्दो मखान खेती हुने गर्दछ । त्यस्तै गौतम ऋषिले पत्नी त्याग गरेपछि आश्रम बनाएर बसेको विसनपर(विष्णुपुर) को गौतम कुण्ड स्थानलाई पर्यटकीयस्थल बनाउन सकिन्छ । लक्ष्मीनारायण आरती, झुलनोत्सव, दुुर्गापूजा, वीरजा नदीमा मनाइने अन्तरदेशीय छठ पूजा मिथिला परिक्रमालगायतका उत्सव भव्यताका साथ मनाइन्छ । सिमरदहीको पुराना लक्ष्मीनारायण मठ भ्रमण गरेर नरसिंह शालीग्रामको दर्शन गर्न सकिन्छ । 

पिपरा गाउँपालिका क्षेत्रभित्र सहोडवामा प्राचीन बौद्धिमाई र मिथिलाको महाकवि विद्यापतिको नाममा रहेको बनौलीको विद्यापति गढ र पोखरी भ्रमणयोग्य छ । बौद्धिमाई मन्दिरमा हप्ताको सोमबार, बुधबार र शुक्रवार प्रसाद तथा बोकाको बली चढाउनेको उपस्थिती देखिन्छ ।

महोत्तरी गाउँपालिका क्षेत्रभित्र महोत्तरी गाउँमा प्राचीन महोदरी पोखरी, अनैठामा ठाडी पोखरी र ठाडेश्वर महादेव मन्दिर, सनुखडाको सोनामाई मन्दिर, महादेव मन्दिर भ्रमण गर्न सकिन्छ । सनुुखडामा पुगेपछि कलचुरी र पालकालीन सातवटा गढ, लोरिक घाट तथा मिथिलाविहारी पोखरीमा धेरै अग्ला मानिसको हाड, तामाका पुराना पैसा, माटाका भाडा भेटिएको १५० वर्ष पुुरानो कथा सुन्न सकिन्छ । यसै पालिकाको रानी रतवारालाई “मिनी नेपाल” भनिन्छ । राजा राजेन्द्र शाहकी साहिली भित्रानी बजाजले यो मन्दिर जीणैद्धार गरेपछि गाउँकै नाम रानी रतवारा भएको हो । यहाँ रहेको लक्ष्मीनारायण मन्दिरभित्र प्राचीन लक्ष्मीनारायण, कामदेव, भैरब, गरुडो प्र्रतिमा छ । त्यस्तै पारसनाथ महादेव मन्दिरभित्रसमेत पुराना मूर्तीहरु छन् । यो ठाउँको मन्दिरले कर्णाट, सेन तथा शाह शासकहरुको प्रतिनिधित्व गर्छ । मन्दिरमा १८९० सालको पुरानो घण्टा पनि छ ।

एकडारा गाउँपालिका क्षेत्रभित्र बहेडा बजार नजिक धार्मिक एवम् ऐतिहासिक महोदर पोखरी छ । 


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism