महोत्तरी जिल्लामा उद्योग दर्ता निराशाजनक
महोत्तरी जिल्लामा उद्योग दर्ता निराशाजनक
राकेशप्रसाद चौधरी
स्थानीय पालिका, राजश्व कार्यालय, स्थानिय उद्योग वाणिज्य संघ लगायतका ठाउँमा कर तिनुपर्ने बाध्यताका कारण महोत्तरी जिल्लामा साना उद्योग दर्ताको संख्यामा कमी आएको छ।
घरेलु तथा साना उद्योग कार्यालय जलेश्वरको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९÷८० मा ८ सय ३४ साना उद्योग दर्ता भएका हो।दर्ता भएकोमध्ये साझेदारी १० र प्रा.लि २६ बाहेक अन्य प्राइभेट फर्म छन्। निमित्त कार्यालय प्रमुख रामेश्वर सिंह भन्छन्,‘एउटा उद्योग दर्ता गराउन चार ठाउँमा कर तिर्नुपर्छ। हाम्रो कार्यालयमा पाँचबर्षपछि नविकरण गराउनुपर्ने कानुन प्रावधान छ। अन्य ठाउँमा बर्षपच्छिे नविकरण गराउने कानुन भएकोले उद्योगीलाई आर्थिक भार अधिक पर्छ।’
बजारमा आर्थिकमन्दीका कारण उत्पादित सामग्री बिक्री कम हुने समस्या देखिएको छ। दर्ता भएका उद्योगहरू बन्द हुने र नविकरण नगर्ने समस्या देखिएको बताउँदै सिंह भन्छन्,‘गत आर्थिक बर्षमा ५१ साना उद्योगले लगत कट्टा गराए भने ५ सय ६५ को मात्र नविकरण भएको छ। वाणिज्य तर्फ ७ सय ५ दर्ता, १ हजार १ नविकरण र ८४ वटा लगत कट्टा भयो।’
आर्थिक बर्ष २०७८÷७९ मा १ हजार ४ सय ३८ उद्योग दर्ता भएको थियो। यसमध्ये १ हजार ३ सय ८३ प्राइभेट, २१ साझेदारी एवम् ३४ कम्पनी थिए।लगत कट्टाको संख्या ४८ थियो। वाणिज्यतर्फ १ हजार २ सय ३४ दर्ता, ७ सय ८९ नविकरण र ८७ वटा कट्टा भएको कार्यालयले जनाएको छ ।
Comments
Post a Comment